नेकपा संसदीय दलको गणित यस्तो छ
परिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीहरुमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित अन्य प्रमुख नेताहरु समेत प्रधानमन्त्री ओलीविरुद्ध एकै ठाउँमा उभिँदा प्रधानमन्त्री ओली अल्पमतमा परेका हुन्। संसदीय दलमा बहुमत पुर्याउन ओलीलाई कम्तीमा थप ११ सांसदको समर्थन चाहिने देखिन्छ।
पछिल्लो एक साता स्थगित भएको स्थायी समिति बैठक मंगलबार राखिएको छ। स्थायी समितिका एक जना वरिष्ठ सदस्यले सोमबार साँझ मन्त्रीपरिषद बैठक सकेर निस्केपछि मंगलबारको बैठका आयोजना गर्ने सूचीमै रहेको नेपालखबरलाई बताए। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अडान असन्तुष्ट पक्षको छ। विवादका कारण ‘डेडलक’ बढ्दै गएको र ओली सहमतिमा नआएको भन्दै प्रचण्डपक्षीय नेताहरुले अब विवादलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउनेतर्फ जाने बताएका छन्।
त्यसो हुँदा ओलीले आफू तुलनात्मक रुपमा बलियो रहेको संसदीय दलमा त्यस्तो प्रस्ताव सामना गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन्।
‘पार्टीको स्थायी कमिटी वा केन्द्रीय कमिटीले राजीनामा दिन निर्देशन दिने निर्णय गर्दा प्रधानमन्त्री ओली संसदीय दलमा जान्छु भन्न सक्नुहुन्छ। उहाँ पार्टीको अन्य संगठनमाभन्दा संसदीय दलमा बलियो अवस्थामा हुनुहुन्छ’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘तर, प्रचण्ड र नेपाल एकै स्थानमा हुँदा ओलीलाई संसदीय दलमा पनि बहुमत पुर्याउन कठिन देखिन्छ। अझ सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओलीको संख्या एक तिहाइ मात्रै हो।’
प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने विषय संसदीय दलमा पुग्ने सम्भावना बढेपछि दुवै पक्षले त्यसको तयारी गरेका छन्। स्थायी समितिका एक नेताका अनुसार एक महिना अघिदेखि नै दुवै पक्षले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भएपनि आइतबार मात्र त्यो पूरा गरेका छन्।
नेकपाको संसदीय दलका १ सय ७४ सांसदमध्ये ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा कति कति जनाले हस्ताक्षर गरे भन्ने खुलेको छैन। उच्च स्रोतहरूका अनुसार कम्तिमा आठ जना सांसदहरूले दुवैतर्फको सूचीमा हस्ताक्षर गरेका छन्।
नेपालखबरले पछिल्लो समयको संसदीय अंक गणितबारे जानकार तीनै पक्षका नेता तथा सांसदहरुसँग छलफल गरी संसदीय दलको सूची तयार गरेको छ। अहिलेकै अवस्था यथावत रहेसम्म एक दुई जना यताउता हुन सक्ने सम्भावना रहेपनि संसदीय दलको गणित यो सूची अनुसार नै देखिन्छ। दिनहरू बित्दै र परिस्थिति परिवर्तन हुँदै जाँदा सांसदहरूले समूह परिवर्तन गर्ने सम्भावना भने निकै रहने छ।
पार्टी संगठनभित्र ओली, प्रचण्ड र नेपाल पक्ष करिबकरिब बराबरीको हैसियतमा भएपनि संसदीय दलमा ओली तुलनात्मक रुपमा बलियो अवस्थामा छन्।
स्वतन्त्र रुपमा चुनाव जितेका छक्कबहादुर लामासहित नेकपाको संसदीय दल १ सय ७४ सदस्यीय छ। अग्निप्रसाद सापकोटा सभामुख भएका कारण मत विभाजन गर्नुपरे १ सय ७३ जनाको मत गणना हुन्छ। बहुमतका लागि ८७ मत आवश्यक पर्छ। संसदीय दलमा ओलीलाई समर्थन गर्नेहरुको संख्या करिब ४३.६७ प्रतिशत देखिन्छ। प्रचण्ड र नेपाल पक्ष एकातर्फ हुँदा पनि उनीहरुको पक्षमा ५४.५९ प्रतिशत मात्रै सांसद छन्।
पछिल्लो स्थितिमा संसदीय दलका नेता ओलीको पक्षमा ७६ जना सांसद देखिन्छन्। अहिले तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, नेपाल र खनाल ओलीविरुद्ध एकै स्थानमा उभिएका छन्। जसमा प्रचण्डलाई पूर्वमाओवादीतर्फको ५२ सांसदको समर्थन छ। त्यसैगरी नेपालतर्फ खनालसहित ४३ जना सांसद छन्। अर्थात् यी तीन नेताहरुसँग ९५ सांसद छन्।