प्रदेश प्रमुख एआईजी कि डीआईजी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
विगतमा १२ जनासम्म एआईजी रहने प्रावधान भए पनि वर्तमान सरकारले कार्यभार सम्हालेलगत्तै सो संख्या घटाएर एकजना प्राविधिकसहित चार जना पुर्याएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखले पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न र प्रदेश प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा
प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गरे ।
मुलुक संघीयतामा गएकाले प्रमुखबाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको तर्क छ ।
यता, कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राख्ने सरकारको प्रस्तावमा सहमति जनाए । उनले प्रदेश प्रमुखबाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग राखे ।
समितिमा पेस गरिएको विधेयकमा भने प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।
रा.रा.स बाट