काठमाडौंको चक्रपथभित्र १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण ले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।
चक्रपथभित्र विद्युत् आपूर्ति सहज बनाउने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यसहित बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म प्रसारण लाइन निर्माण गर्न लागिएको हो।
करिब ११.९२ किलोमिटर लामो डबल सर्किट लाइनमार्फत ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। आयोजनाअन्तर्गत महाराजगञ्ज, राजदरबार, रत्नपार्क र सिंहदरबारमा सबस्टेशन निर्माण गरिनेछ।
प्राधिकरणले उक्त परियोजनाका लागि अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएको छ। निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस परियोजनालाई काठमाडौंको विद्युत् पूर्वाधार विस्तारसँगै सहरी सौन्दर्य सुधारको महत्वपूर्ण योजना मानिएको छ।