हावाहुरी प्रभावित क्षेत्रमा तत्काल राहतको माग, सांसदहरूको सरकारलाई ध्यानाकर्षण
काठमाडौँ — सोमबार राति आएको हावाहुरीबाट देशका विभिन्न स्थानमा भएको क्षतिप्रति प्रतिनिधिसभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार आकस्मिक समयमा सांसदहरूले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा अस्थायी बसोबासको व्यवस्था गर्न माग गरेका हुन्।
सांसद सोम शर्माका अनुसार बागलुङमा आएको हावाहुरीले ३४ घर र चार विद्यालयमा क्षति पुर्याएको छ भने कृषि बालीसमेत नष्ट भएको छ। त्यस्तै सांसद बलावती शर्माले प्रभावित नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न आग्रह गरिन्।
सांसद गोविन्द पन्थीले गुल्मीको मालिका गाउँपालिकामा ठूलो क्षति भएको उल्लेख गर्दै घरबारविहीन नागरिकका लागि तत्काल सहयोग आवश्यक रहेको बताए। अन्य सांसदहरूले पनि ग्रामीण क्षेत्रमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।