हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र बनाइने नेतान्याहुको घोषणा
तेल अभिभ — बेन्जामिन नेतान्याहु ले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ तीव्र बनाइने घोषणा गरेका छन्।
सोमबार भिडियो सन्देशमार्फत उनले इजरायल “हिजबुल्लाहसँग युद्धको अवस्थामा रहेको” भन्दै सेनालाई निर्णायक प्रहार गर्न निर्देशन दिइएको बताएका हुन्। नेतान्याहुले हालसम्मको कारबाहीमा हिजबुल्लाहका ६ सयभन्दा बढी लडाकु मारिएको दाबी पनि गरेका छन्।
यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पूर्वी लेबनानको बेका उपत्यकासहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ। जवाफमा हिजबुल्लाहले २२ वटा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ।
युद्धविराम थप गर्ने सहमति भए पनि सीमावर्ती क्षेत्रमा हिंसा रोकिएको छैन। लेबनानका राष्ट्रपति जोसेफ औन ले दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने बताएका छन्।
संघर्षका कारण हालसम्म हजारौं मानिस मारिएका छन् भने १० लाखभन्दा बढी लेबनानी विस्थापित भएको बताइएको छ।