प्रधानमन्त्री बालेन शाहले इयू आबद्ध देशका राजदूतसँग सामूहिक भेट गर्दै
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले सोमबार युरोपेली सङ्घ (EU)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग सिंहदरबारमा सामूहिक भेटवार्ता गर्दै छन्।
युरोपेली सङ्घ का प्रतिनिधिहरू हाल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। प्रधानमन्त्रीसँगको भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विविध विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा नेपाललाई अति कम विकसित देश (LDC) को सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा पनि छलफल हुनेछ।
त्यसैगरी, युरोपेली सङ्घको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा समेत कूटनीतिक पहल हुने बुझिएको छ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।