गोकर्णेश्वरका विभिन्न वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ — गोकर्णेश्वर नगरपालिका का वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
नगरपालिकाले संक्रमित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट लगायत पन्छी, अण्डा तथा दाना नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको जनाएको छ।
रोग फैलिन नदिन पन्छी फार्ममा अनावश्यक आवतजावत रोकिएको छ भने निसंक्रमणलाई अनिवार्य गरिएको छ। साथै कृषकलाई छुट्टै बुट, एप्रोन प्रयोग गर्न र खोर दैनिक रूपमा सफा तथा निसंक्रमण गर्न आग्रह गरिएको छ।
नगरपालिकाले ठूलो संख्यामा पन्छी बिरामी वा मरेको देखिए तत्काल पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी दिन अनुरोध गरेको छ।