खोटाङमा अब राहदानी घरमै पुग्ने, हुलाकमार्फत वितरण सुरु
खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङ ले सेवाग्राहीको राहदानी घर–घरमा पुर्याएर वितरण गर्न जिल्ला हुलाक कार्यालय खोटाङ लाई जिम्मेवारी दिएको छ।
नेपाल सरकारको निर्देशनअनुसार राहदानी वितरणलाई सहज बनाउन हुलाकमार्फत सेवा सुरु गरिएको प्रशासन कार्यालयले जनाएको छ।
राहदानी शाखा प्रमुख दिनेश आचार्यका अनुसार गत वैशाख १५ पछि आवेदन दिएका १५७ सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घरमै पुर्याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको छ।
सेवाग्राहीले राहदानी घरमै प्राप्त गर्न टिकट शुल्कबापत ४५ रुपैयाँ तिर्नुपर्नेछ। उक्त रकम राजस्वका रूपमा राज्यकोषमा जम्मा हुने जनाइएको छ।
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी शम्भू तामाङका अनुसार सोमबार प्रशासनबाट जिम्मा लिइएका राहदानी आजदेखि सम्बन्धित स्थानीय तहमार्फत सेवाग्राहीको घर–घरमा वितरण सुरु गरिएको छ।
यो व्यवस्थासँगै राहदानी लिन प्रशासन कार्यालय आउँदा लाग्ने समय र खर्च बच्ने भएपछि सेवाग्राही खुसी भएका छन्।