प्रतिनिधिसभामा सांसद खरेलको अभिव्यक्तिपछि तनाव, बैठक १५ मिनेट स्थगित
काठमाडौँ — प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको संसद् अवरोधलाई “तमासा” भन्दै टिप्पणी गरेपछि संसद्मा तनाव उत्पन्न भएको छ।
पर्यटनसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा रोस्ट्रममा उभिएका खरेलले विपक्षी दलहरूले वर्षौँदेखि संसद् अवरोध गर्दै आएको आरोप लगाउँदै अहिलेको अवरोधलाई “तमासा” को संज्ञा दिएका हुन्। उनले सरकारले ल्याएका आठवटा अध्यादेशको समेत बचाउ गर्दै संसद् अवरोध गर्ने शैलीको आलोचना गरे।
उनको अभिव्यक्तिपछि नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित हुँदै आफ्नो आसनबाट उठेर रोस्ट्रमतर्फ अघि बढेका थिए। स्थिति चर्किँदै गएपछि कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उनलाई रोकेर आसनमा फर्काएकी थिइन्।
सांसद खरेलको कडा अभिव्यक्तिले विपक्षी सांसदहरू असन्तुष्ट बनेका थिए। त्यस क्रममा संसद्भित्र केही समय हो–हल्ला र अवरोधको स्थिति देखिएको थियो।
विवादपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
खरेलले आफ्नो भनाइमा “आठवटा अध्यादेश किन आवश्यक पर्यो भन्ने अहिले प्रष्ट भएको छ” भन्दै विपक्षीको अवरोध शैलीप्रति कडा टिप्पणी गरेका थिए।