दुर्गा प्रसाईं साधारण तारेखमा रिहा गर्न अदालतको आदेश
वीरगञ्ज, पर्सा — जिल्ला अदालत पर्साले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसूर सम्बन्धी अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका उनलाई मंगलबार अदालतले तारेखमा छाड्न आदेश दिएको हो।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव खल्बलाउने गतिविधिमा संलग्न भएको तथा राज्यविरुद्ध उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। तर अदालतले ती आरोप पुष्टि हुने ठोस आधार तत्काल उपलब्ध नभएको निष्कर्ष निकालेको बताइएको छ।
प्रसाईंलाई यसअघि वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो। उनी एक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका बेला पक्राउ परेका थिए।
यसैबीच, सर्वोच्च अदालतले समेत थप हिरासतमा नराख्न आदेश दिँदै अनुसन्धान समयसीमा भित्र टुंग्याउन निर्देशन दिएको थियो। म्याद सकिएपछि उनलाई अदालतमा मुद्दा दायर गरिएको हो।
प्रसाईंका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो।