रास्वपा सभापति लामिछानेको दाबी: सुकुम्बासी समस्या समाधानमा सरकार प्रतिबद्ध
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
एक सार्वजनिक अभिव्यक्तिमा उनले आफ्नो पार्टीका कारण कुनै पनि परिवार सुकुम्बासी बन्नु नपरेको दाबी गर्दै देशभरिबाट त्यसको उदाहरण देखाउन चुनौती दिएका छन्। उनले भने, “के हाम्रा कारणले देशमा एउटा पनि घर सुकुम्बासी बनेको छ? हामी त वर्षौँदेखिको यो समस्या समाधान गर्दैछौँ।”
लामिछानेका अनुसार विगत लामो समयदेखि सुकुम्बासी समस्या जटिल बनेको र त्यसको जिम्मेवारी पुराना राजनीतिक दलहरूले लिनुपर्ने अवस्था रहेको छ। उनले थपे, “यो समस्या विगत ३० वर्षदेखि अरू दलहरूले खडा गरेका हुन्, तर त्यसको अपजस हामीले झेलिरहेका छौँ।”
उनले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उल्लेख गर्दै विरोध र आलोचना भए पनि अधिकार र न्याय सुनिश्चित गर्ने दाबी गरेका छन्।
सरकारी निकाय तथा राजनीतिक दलहरूबीच भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनबारे निरन्तर बहस र छलफल हुँदै आएको छ।