विदेशमा रहेका नेपालीको सहयोगका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
काठमाडौँ — विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धारलाई थप सहज बनाउन सरकारले नयाँ मोबाइल एप ‘मोफा मित्र’ सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री शिशिर खनालले उक्त एपको औपचारिक शुभारम्भ गरेका हुन्।
मन्त्रालयका अनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीको सहायता, खोजतलास तथा उद्धार कार्यलाई प्रविधिमैत्री, प्रभावकारी र सहज बनाउने उद्देश्यले एप विकास गरिएको हो।
कन्सुलर सेवा विभागद्वारा विकसित ‘मोफा मित्र’ एपले कन्सुलर सेवा प्रवाहलाई अझ चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
यस एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले आपतकालीन सहयोग, सूचना आदान–प्रदान तथा उद्धारसम्बन्धी सेवामा सहज पहुँच पाउने विश्वास लिइएको छ।