प्रधानमन्त्री शाह: “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण अलग हुनु होइन”
काठमाडौँ, १२ जेठ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ तथा अन्य मित्रराष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटमा प्रधानमन्त्री शाहले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै सरकारको नीति निरन्तरताप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उनले नेपालमा राजनीतिक स्थिरता, लोकतान्त्रिक मूल्यको संरक्षण र नीतिगत स्पष्टता तथा अनुमानयोग्यता सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको बताए। उनले नागरिकको जीवनस्तर सुधारलाई वर्तमान सरकारको मुख्य प्राथमिकता भएको उल्लेख गरे।
प्रधानमन्त्री शाहले हालैको निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको दाबी गर्दै सरकार नीति निरन्तरतासहित आर्थिक सुधारमा केन्द्रित रहने बताए। उनले विदेशी लगानी आकर्षित गर्न प्रक्रिया सहज बनाउने, नवप्रवर्तन प्रोत्साहन गर्ने तथा दिगो विकास हासिल गर्ने प्रतिबद्धता पनि जनाए।
त्यसैगरी, उनले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति निरन्तर रहने उल्लेख गर्दै छिमेकी तथा विकास साझेदारहरूसँगको सम्बन्ध आपसी सम्मान र साझा समृद्धिमा आधारित रहने स्पष्ट पारे। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने सरकारको योजना रहेको पनि उनले बताए।
भेटमा सहभागी युरोपेली संघ तथा अन्य देशका राजदूतहरूले नेपालको शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई सुशासन र आर्थिक विकासका लागि सहयोग तथा लगानी गर्न तत्पर रहेको बताएका थिए।