वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी आरोपमा सात जना पक्राउ
काठमाडौँ — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये दुई जना विदेशी नागरिकसहित विभिन्न स्थानका सात जना रहेका छन्। उनीहरूलाई आज सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक २६ वर्षीय अमितकुमार र ३९ वर्षीय राहुल कुमार रहेका छन्। उनीहरू भारत पञ्जाब र हरियाणाका नागरिक भएको प्रहरीले जनाएको छ।
त्यसैगरी मुस्कान घिमिरे (तारकेश्वर–काठमाडौँ), जनकबहादुर वाइबा (मकवानपुर), मिलन घिमिरे (सुनसरी), कमल थापा (काठमाडौँ), तथा नितु घिमिरे (मकवानपुर) पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने भन्दै पीडितहरूबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्म असुली गरेका थिए।
सबैभन्दा ठूलो रकम अमितकुमार र राहुलकुमारले क्यानडा पठाइदिने भन्दै १ करोड ५७ लाख ६५ हजार रुपैयाँभन्दा बढी ठगी गरेको अभियोग छ।
अन्य आरोपीहरूले विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये केहीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र केहीलाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।