नर्वेबाट १० करोड अनुदान स्वीकार, जेनजी मुद्दाको प्रतिवेदन गृहमा पठाउने निर्णय
सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी कार्यक्रम सञ्चालनका लागि उक्त अनुदान स्वीकार गर्न स्वीकृति दिएको हो। बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८३ तथा वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।
यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।
बैठकले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।