नेपाली कांग्रेसको १५औँ महाधिवेशन : नेताहरूसँगको व्यापक छलफलपछि लोकप्रिय नेतृ टिका कुमारी बस्यालद्वारा केन्द्रीय सदस्य (दलित महिला) मा आधिकारिक उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सांगठनिक प्रतिस्पर्धा उत्कर्षमा पुगेका बेला लमजुङबाट सर्वाधिक र लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि पदमा विजयी हुनुभएकी बौद्धिक एवम् विकासप्रेमी नेत्री टीका कुमारी बस्यालले पार्टीको केन्द्रीय सदस्य (दलित महिला) पदमा आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गर्नुभएको छ।
लमजुङका अन्य धेरै नेताहरूले पहिल्यै उम्मेदवारी सार्वजनिक गरिसक्दा पनि नेतृ बस्यालले भने जिल्लाका सबै नेता, कार्यकर्ता र साथीहरूसँग व्यापक सल्लाह र परामर्श गरेर मात्र यो निर्णय लिनुभएको हो। पार्टीभित्र अनुशासित ढङ्गले सबैको भावनालाई समेटेर अघि बढ्ने उहाँको यो परिपक्व कदमलाई सांगठनिक अनुशासन र उच्च लोकतान्त्रिक संस्कारको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
सुदूरपश्चिमको डोटीमा जन्मेर कक्षा ७ मा अध्ययनरत छँदै कैलालीबाट नेविसङ्घमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएकी माननीय बस्यालको जीवन कथा आफैँमा प्रेरणादायी र सङ्घर्षपूर्ण छ। सामाजिक अवरोध, जातीय विभेद र पितृसत्तात्मक चिन्तनका कठिन चुनौतीहरूलाई आफ्नो दृढ इच्छाशक्तिले चिर्दै उहाँ राजनीतिमा अविचलित रूपमा स्थापित हुनुभएको हो। उत्पीडित समुदाय, महिला, दलित र सीमान्तकृत नागरिकको हकहितका लागि संसद्देखि सडकसम्म निरन्तर आवाज बुलन्द गर्दै आउनुभएकी बस्याललाई लमजुङ कांग्रेस र आम महिला सशक्तीकरणको क्षेत्रमा एक प्रखर नेतृत्वका रूपमा हेरिने गरिन्छ।
गण्डकी प्रदेश सभा सदस्यका रूपमा लमजुङको समग्र भौतिक तथा सामाजिक पूर्वाधार विकासमा उहाँले पुर्याउनुभएको योगदान अतुलनीय मानिन्छ। लमजुङको दिगो विकासका लागि ठूलो मात्रामा बजेट विनियोजन गराउने, ग्रामीण सडक, खानेपानी, शिक्षा एवं स्वास्थ्य जस्ता दूरगामी योजनाहरू सफलतापूर्वक सञ्चालन गराउने र योजनाहरूको पारदर्शी रूपमा स्थलगत अनुगमन गर्ने उहाँको कार्यशैलीकै कारण बस्याल आम जनताको मनमा बस्न सफल हुनुभएको हो। जिल्ला र गण्डकी प्रदेश राजनीतिमा आफ्नो कुशल नेतृत्व क्षमता प्रमाणित गरिसक्नुभएकी उहाँ केन्द्रीय राजनीतिमा पनि उत्तिकै सफल हुन सक्ने उच्च क्षमता र सम्भावना बोकेकी नेत्री हुनुहुन्छ।
नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आदर्श र नेपाली कांग्रेसको पुरानो ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै बस्यालले "समृद्धिको संकल्प, समावेशी विकास र न्यायपूर्ण समाज निर्माण गर्ने नेपाली कांग्रेस" भन्ने मूल दृष्टिकोण अघि सार्नुभएको छ। उहाँले "दलितको अधिकार, सबैको अधिकार" भन्ने मान्यताका साथ समानता, समावेशिता र सामाजिक न्यायका लागि पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीभित्र महिला केवल कोटा पूर्तिको दायराभन्दा माथि उठेर निर्णायक र शक्तिशाली नेतृत्व निर्माण गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले आफ्नो कार्यकुशलताबाट सिद्ध गरिसक्नुभएको छ।
लमजुङ र गण्डकी प्रदेशबाट प्राप्त अभूतपूर्व समर्थन, जनविश्वास र आफ्नो संसदीय तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै नेत्री बस्यालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। राजनीतिक निष्ठा, बौद्धिकता, त्याग र विकासप्रतिको समर्पणले भरिपूर्ण टीका कुमारी बस्याल केन्द्रीय सदस्य बन्नु लमजुङ जिल्ला र गण्डकी प्रदेशका लागि मात्र नभई सिङ्गो नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि समेत अत्यन्तै फलदायी र ऐतिहासिक हुने निश्चित छ।