तीन वर्षमा इजरायलका १ हजार ३१८ सैनिक तथा सुरक्षाकर्मीको मृत्यु
इजरायलको रक्षा मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्वका क्रममा तीन वर्षमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न १ हजार ३१८ जनाको मृत्यु भएको छ।
मन्त्रालयले मृतकमा सैनिक तथा प्रहरीसहित गुप्तचर, जेल सेवा, अग्निनियन्त्रक, उद्धारकर्मी तथा स्थानीय सुरक्षा संयोजक र आपत्कालीन प्रतिक्रिया टोलीका सदस्य रहेको जनाएको छ। गाजा, पश्चिम किनारा, लेबनान, सिरिया, इराक तथा यमनमा भएका सैन्य कारबाहीमा मारिएका सुरक्षाकर्मी पनि तथ्यांकमा समेटिएका छन्।
इजरायलका अनुसार अक्टोबर ७ को हमास नेतृत्वको आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु र २५१ जना बन्धक बनेका थिए। त्यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।