हरि बहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित, २ लाख ५० हजार प्रदान
कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकायालाई ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मान गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गिहेन्द्र घिमिरेले रोकायालाई सम्मान गरेका हुन्।
सम्मानसँगै रोकायालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उनी अब कर्णाली याक्स हिरोजका रूपमा टिमको ब्रान्ड एम्बेसडर रहनेछन्।
रोकायाले १९८८ को सियोल र १९९२ को बार्सिलोना ओलम्पिकमा नेपालबाट सहभागिता जनाएका थिए। उनले ११ राष्ट्रिय स्वर्ण पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा कांस्य पदक जितेका थिए। एभरेस्ट म्याराथनमा तीन पटक उपाधि जितेका रोकायाले सन् १९९९ मा ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै विश्व कीर्तिमानसमेत बनाएका थिए।
खेल जीवनपछि प्रशिक्षणमा सक्रिय रोकायाले जुम्लाबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका छन्। उनले कर्णाली स्पोर्ट्स क्लब स्थापना गरी खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्। सम्मानबाट प्राप्त रकम जुम्लाका खेलाडीको प्रशिक्षणमा प्रयोग गर्ने रोकायाले बताए।