चितवनमा ट्याक्टर र बलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते
चितवनको कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएकी कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १० घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।