निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू
सरकारले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीको मूल्य बढेकाले २०८२ चैत १५ गतेपछि पनि कार्यसम्पादन अवधि कायम रहेका ठेक्कामा वास्तविक तथा प्रमाणित खपतका आधारमा समायोजन उपलब्ध गराइनेछ।
साविक मूल्य समायोजनको व्यवस्था भएका ठेक्कामा भने सम्झौताअनुसार प्राप्त रकम घटाएर बाँकी योग्य रकम मात्र दिइनेछ। मन्त्रालयका अनुसार यस व्यवस्थाले असाधारण मूल्यवृद्धिलाई मात्र सम्बोधन गर्नेछ।