फ्लाई दुबईका को-पाइलट ओमानी नागरिक भएको खुलासा
इजरायलतर्फ गइरहेको फ्लाई दुबईको विमानका क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका को-पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार एफजेड १०७३ उडानका क्रममा उनले भारतीय क्याप्टेन स्मित मच्छारमाथि आपत्कालीन बञ्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको यूएईले जनाएको छ। यात्रु र चालक दलका सदस्यले उनलाई नियन्त्रणमा लिएपछि रिजर्भ पाइलटले विमानलाई साउदी अरबको ताबुकमा सुरक्षित अवतरण गराएका थिए।
अल-हम्मामीलाई यसअघि उग्रवादी विचारको आशङ्कामा ओमानमा उडान गर्न रोक लगाइएको दाबी सञ्चारमाध्यमले गरेका छन्। यद्यपि, उनको पहिचान, कथित विचार तथा घटनाको उद्देश्यबारे आधिकारिक पुष्टि भएको छैन।
यूएईका अधिकारीले घटनालाई ‘आतङ्कवादी कार्य’ को प्रयास भनेका छन्। घटनाबारे उद्देश्य र अन्य व्यक्तिको संलग्नतासहित थप अनुसन्धान भइरहेको जनाइएको छ।