दिल्लीमा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, छानबिन सुरु
भारतको निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। दिल्ली प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन्।
निर्वाचन आयोगले भने मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। आयोगका प्रमुख कुमारले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
शनिबार नयाँदिल्लीको सरकारले तोकेको प्रदर्शनस्थल जन्तर मन्तर आसपास प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा केही महिला पत्रकारले प्रहरी अधिकारीहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।
दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै तीन महिला पत्रकारबाट यौन दुर्व्यवहारसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गरेको छ। घटनाको निष्पक्ष र तटस्थ अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा एक उजुरीकर्ताले एक प्रहरी अधिकारीले आफूलाई धकेल्नुका साथै अनुचित रूपमा छोएको आरोप लगाएकी छन्।
राजधानीमा आइतबार पनि विरोध प्रदर्शन जारी रहने बताइएको छ। आन्दोलनमा वामपन्थी समूह तथा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) का समर्थकहरू पनि सहभागी हुँदैछन्।
व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापना भएको सिजेपीले यसअघि मे महिनामा तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउन अभियान सञ्चालन गरेको थियो।
सिजेपीका प्रमुख अभिजित दिपकेले शनिबार प्रहरीको धरपकडको आलोचना गर्दै आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
त्यस्तै, वामपन्थी विद्यार्थी नेतृ नेहा बोराले प्रदर्शनकारीलाई नयाँदिल्लीस्थित इन्डिया गेटसम्म मार्च गर्न आह्वान गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत महिलाहरू सडकदेखि आन्दोलनसम्म सुरक्षित नरहेको भन्दै सुरक्षाको सुनिश्चितता गर्न माग गरेकी छन्।
विपक्षी दलहरूले निर्वाचन आयोग प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)को प्रभावमा काम गरिरहेको आरोप लगाएका छन्। उनीहरूले मंगलबार निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाउ’ अभियानअन्तर्गत विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
यसैबीच, सिजेपीले आगामी १० अक्टोबरमा नयाँदिल्लीमा ‘युवा भारतीयहरूको व्यापक परिचालन’ गर्ने आह्वान गरेको छ।