लमजुङ गैरी चर्चद्वारा क्यान्सरपीडित राजु धितालको उपचारका लागि आर्थिक सहयोग
बेँसीसहर नगरपालिका-२ गैरीस्थित लमजुङ गैरी चर्चले क्यान्सरपीडित राजु धितालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको छ। चर्चको आयोजनामा बसेको बैठकबाट डाँडाथोक निवासी धितालको उपचारका लागि रु. १४ हजार ७ सय ४० सहयोग प्रदान गरिएको हो।
चर्चका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा बसेको बैठकले बिरामी धितालको उपचारमा सहयोग पुर्याउने निर्णय गर्दै उक्त रकम सहयोगस्वरूप प्रदान गरेको हो। आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामी तथा परिवारलाई सानो सहयोगले पनि राहत पुग्ने विश्वाससहित चर्चले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
विभिन्न समयमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको लमजुङ गैरी चर्चले समुदायमा आवश्यक पर्दा सहयोग र सहकार्य गर्दै आएको बताइएको छ। बिरामीको उपचारमा सहयोग गर्नु मानवीय कर्तव्य भएको उल्लेख गर्दै चर्चले समुदायमा दुःख र अप्ठ्यारोमा परेकाहरूलाई सक्दो साथ दिने प्रतिबद्धता जनाएको छ।
चर्चले आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न कार्यलाई निरन्तरता दिने जनाएको छ। स्वास्थ्य, विपद् तथा अन्य कठिन परिस्थितिमा परेका समुदायका सदस्यलाई आवश्यकताअनुसार सहयोग गर्ने र सामाजिक सेवामार्फत समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने चर्चको भनाइ छ।
स्थानीयस्तरमा मानवीय तथा सामाजिक सेवाका कामलाई पनि अघि बढाउँदै आएको चर्चको यस सहयोगले बिरामी धितालको उपचारमा केही राहत अवश्यनै पुगेको छ। चर्चले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।