कांग्रेस महाधिवेशनलाई भाजपा र इन्डियन नेसनल कांग्रेससहित विभिन्न दलको शुभकामना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा भारतका सत्तारूढ भाजपा र प्रमुख प्रतिपक्षी इन्डियन नेसनल कांग्रेससहित विभिन्न देशका राजनीतिक दल तथा नेताले शुभकामना दिएका छन्।
भारतका भाजपा अध्यक्ष नितिन नवीन र इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि शुभकामना दिएका छन्।
त्यस्तै, बेलायतको लेबर पार्टी, इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) लगायत एसिया तथा युरोपका विभिन्न राजनीतिक दल तथा संस्थाबाट शुभकामना प्राप्त भएको कांग्रेसले जनाएको छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।