स्वास्थ्य बीमामा पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।
बोर्डको दोस्रो बैठकले नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो। साथै, बीमित परिवारले इपोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।
बोर्डका अनुसार यसबाट बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्नेछ।
त्यस्तै, सेवा खरिद तथा भुक्तानी प्रणालीलाई लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलले सेवा प्रदायक संस्थाको छनोट, वर्गीकरण र भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ।
डिजिटल सुधारअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट इएमआर प्रणालीमार्फत प्राप्त स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई समेत मान्यता दिइने बोर्डले जनाएको छ।