सरकार ढल्दैन, बरु ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्नेछन् : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। सरकार कमजोर हुँदै गएको चर्चा हुने गरे पनि सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने उनले बताएका हुन्।
आइतबार खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, बिल्कुल ढल्दैन। बरु ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्नेछन्।’
लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने बताउँदै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनको भनाइ थियो।
‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उनले भने, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’
निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न उनले आग्रह गरे। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्ने अधिकार रहेको भन्दै त्यसलाई स्वीकार गर्न तयार रहेको उनले बताए।
‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ लामिछानेले भने।
बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले लोकतन्त्रलाई तलमाथि पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए। वर्तमान राजनीतिक परिवर्तनको रक्षा सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
कांग्रेसको १५औँ महाधिवेशनमा गगनकुमार थापाको सभापति नेतृत्वमा आएको नयाँ चरणको प्रसंग उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो लामो राजनीतिक इतिहासबाट सिक्दै अघि बढ्नुपर्ने बताए।
कांग्रेसको लामो राजनीतिक इतिहास उसको शक्ति भए पनि त्यसलाई नयाँ पुस्ताको चाहना, बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षासँग जोडेर अघि बढ्नुपर्ने लामिछानेको भनाइ थियो।