बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही स्थानकी १४ वर्षीया चाँदनी पटेल रहेका छन्।
जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका उनीहरू शनिबार साँझ डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पोखरीमा दुवै किशोरीको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
खोजीका क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरले बताए।
मृतक दुवै किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।