ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप ९ निर्माण व्यवसायी पक्राउ
सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ मा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप ९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले निर्माण व्यवसायमा आबद्ध ९ जनालाई शुक्रबार पक्राउ गरेको हो।
यसअघि गत वैशाखमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच बनाई ठेक्काको विवरण हेरफेर गरेको आरोपमा मुद्दा चलाइएको थियो।
अनुसन्धानको दोस्रो चरणमा थप ९ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी उमाप्रसाद चतुर्वेदीले पुष्टि गरे।
उनले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै अदालतबाट म्याद लिएपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने बताए। पक्राउ परेकाहरूमाथि साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।