नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आजदेखि बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। महाधिवेशन व्यवस्थापनले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान सवा ९ बजेदेखि खुलामञ्चस्थित तीनवटा हलमा बन्दसत्र सञ्चालन हुनेछ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गरिनेछ। साथै विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी त्यसमा विस्तृत छलफल गरिनेछ। सभापति गगन थापाले राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइनेछ।
यसैबीच, आजैदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ। विभिन्न पदका आकांक्षीले आज दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गर्न पाउनेछन्।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। साँझ ५ देखि साढे ६ बजेसम्म नामावलीमाथि दाबीविरोध गर्न सकिनेछ भने राति साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
मंगलबार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। अपराह्न साढे ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, साढे ४ देखि साँझ साढे ५ बजेसम्म दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।