क्यानद्वारा पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत क्यानले रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनको योगदानको प्रशंसा गरेको हो।
क्यानले रोहितलाई बिदाइ गर्दै ‘एक पटकको नेता, सधैंको नेता’ भन्दै आगामी दिनमा पनि उही भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटको सेवा गर्ने विश्वास व्यक्त गरेको छ।
२०७९ कात्तिकमा राष्ट्रिय टोलीको कप्तान बनेका रोहितले सन्दीप लामिछानेपछि नेतृत्व सम्हालेका थिए। क्यानले सोमबार एकदिवसीय टोलीको नयाँ कप्तानमा सन्दीपलाई नियुक्त गरेपछि रोहितको कप्तानी अन्त्य भएको हो। टी–२० टोलीको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन्।
चार वर्षपछि कप्तानमा फर्किएका सन्दीपले आगामी अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। प्रिमियर कप एकदिवसीय फर्म्याटमा हुनेछ र यो एसिया कप छनोटसमेत हो।
प्रिमियर कपका लागि घोषित १४ सदस्यीय टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्। टोलीमा देव खनाल र बसिर अहमदले पुनरागमन गरेका छन्। कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख र भीम सार्की भने टोलीमा परेका छैनन्।