वैध लगानी र सम्पत्तिको सुरक्षा सरकारको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी, उद्योग विस्तार, नयाँ उत्पादन र प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार निजी क्षेत्रको साथमा रहेको बताए।
उनले लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित, नियम स्थिर र कर प्रणाली पूर्वानुमानयोग्य रहेको विश्वास गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। उद्यमीले विश्वास नगरेसम्म ठूलो लगानी र उद्योग विस्तार सम्भव नहुने उनको भनाइ थियो।
व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने बताउँदै अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निरन्तर अनुगमन गर्ने जानकारी दिए। निजी क्षेत्रसँगको संवाद समस्या समाधान नभएसम्म जारी रहने उनले बताए।
अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, उत्पादन र रोजगारी सिर्जनाको दशक बन्ने विश्वास व्यक्त गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
छलफलमा सूर्य नेपाल, एनसेल, डाबर नेपाल, युनिलिभर नेपाल, गोर्खा ब्रुअरी, होङ्शी शिवम् सिमेन्ट, एशियन पेन्ट्स, हिमालय एयरलाइन्सलगायत २० ठूला बहुराष्ट्रिय तथा विदेशी लगानीका कम्पनीका प्रतिनिधिको सहभागिता थियो।