गत वर्ष ७ लाख ९२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, अघिल्लो वर्षको तुलनामा संख्या घट्यो
काठमाडौं, ३ साउन — गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर उनीहरू रोजगारीका लागि विभिन्न मुलुक पुगेका हुन्।
विभागको तथ्यांकअनुसार विदेशिनेमा ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ४७ हजार ७९ जनाले घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए।
गत वर्ष म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि कमी आएको छ। विभागका अनुसार म्यानपावरमार्फत २ लाख ६८ हजार ९ सय ९० जना विदेशिएका छन् भने १ लाख २८ हजार ५ सय २० जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन्। त्यस्तै, सरकार–सरकारबीचको (जी–टु–जी) प्रक्रियाबाट ८ हजार १ सय ९७ जना विदेशिएका छन्।
अघिल्लो आर्थिक वर्ष म्यानपावर कम्पनीहरूले ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए। यो संख्या गत आर्थिक वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले बढी हो।
देशगत रूपमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। पुनः श्रम स्वीकृतिसहित यूएई जानेको संख्या १ लाख ८३ हजार ५ सय ८० रहेको छ।
त्यसपछि मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० र साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना नेपाली रोजगारीका लागि गएका छन्।
यस्तै, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन्।