दरौदी नदीमा १५ करोड ६० लाख लागतको स्टिल ट्रस पुल सञ्चालनमा
गोरखाको नयाँ साँघु–नारेश्वर–गोरखा सडकखण्डअन्तर्गत दरौदी नदीमा निर्माण भएको स्टिल ट्रस पुल सञ्चालनमा आएको छ। १५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।
पुल निर्माण भएपछि गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक–६ नयाँ साँघु जोडिनुका साथै सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ।
२०७८ असार ६ गते ठेक्का सम्झौता भएको पुल निर्माणको जिम्मा एलिट कन्ट्रक्सन कम्पनी सुकेधाराले पाएको थियो। दुई पटक म्याद थपपछि निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ।
७८ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ रहेको पुलसँगै जोडिएको करिब दुई किलोमिटर सडक कालोपत्र गर्न स्थानीयले माग गरेका छन्। उक्त सडक कालोपत्र भए नारेश्वर सडकसँग सहज रूपमा जोडिने अपेक्षा गरिएको छ।