नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि सुरु भएको छ। सरकारले ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट शुक्रबारदेखि कार्यान्वयनमा आएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले १५ जेठमा सार्वजनिक गरेको बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नयाँ बजेटसँगै आयकर, करका दर, डिजिटल भुक्तानी, सरकारी कर्मचारीको तलब वृद्धि, राइड सेयरिङ दर्ता लगायतका नयाँ व्यवस्था लागू भएका छन्। व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम आयकर दर २९ प्रतिशत तोकिएको छ।
सरकारले डिजिटल भुक्तानीमा भ्याटको १० प्रतिशत रकम क्यासब्याक, ‘सोभरेन वेल्थ फन्ड’ स्थापना तथा निजी विद्यालय र स्वास्थ्य सेवामा थप ३ प्रतिशत शुल्क लागू गर्ने व्यवस्था गरेको छ। सरकारले यी व्यवस्थामार्फत राजस्व वृद्धि र आर्थिक प्रणाली सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।