विदेशी मुद्रा सञ्चिति बढाउन पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलरको सहायता
काठमाडौं — विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र अर्थतन्त्रमाथिको दबाब कम गर्ने उद्देश्यले पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग १० अर्ब अमेरिकी डलरको विनिमय स्थिरीकरण सुविधा उपलब्ध गराउन आग्रह गरेको छ।
रोयटर्सका अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसमक्ष पाँच वर्षे अवधिको द्विपक्षीय विनिमय स्थिरीकरण सहायता सुविधा माग गरेको हो। प्रस्ताव पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले वासिङ्टनमा अमेरिकी समकक्षीसँगको भेटपछि अघि बढाएका हुन्।
पाकिस्तानको अर्थ मन्त्रालयका अनुसार भेटका क्रममा अर्थमन्त्री औरङ्गजेबले क्षेत्रीय भूराजनीतिक तनावका कारण अर्थतन्त्रमा परेको असरबारे जानकारी गराउँदै विदेशी मुद्रा सञ्चिति वृद्धि, अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच विस्तार र सार्वभौम कर्जा मूल्याङ्कन सुधारका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताएका छन्।
प्रस्ताव स्वीकृत भए पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बलियो हुने, पाकिस्तानी रुपैयाँमाथिको दबाब घट्ने र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) तथा अन्य ऋणदातामाथिको निर्भरता कम हुने अपेक्षा गरिएको छ।
हाल पाकिस्तान आइएमएफको ७ अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत आर्थिक सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ। यसअघि सन् २०२३ मा पाकिस्तानले तीन अर्ब डलरको आइएमएफ स्ट्यान्डबाइ व्यवस्थामार्फत आर्थिक संकट टारेको थियो।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति अझै पनि आइएमएफको सहायता, द्विपक्षीय सहयोग तथा चीन र साउदी अरेबियालगायत साझेदार राष्ट्रबाट प्राप्त वित्तीय सहयोगमा निर्भर रहेको विश्लेषण गरिएको छ।
अमेरिकी विनिमय स्थिरीकरण कोषमार्फत उपलब्ध गराइने यस्ता सुविधाले विदेशी मुद्रा सञ्चिति बलियो बनाउन र मुद्राको स्थायित्व कायम गर्न सहयोग गर्ने बताइएको छ। यसअघि अर्जेन्टिना र उरुग्वेले पनि यस्तै प्रकारको सहायता प्राप्त गरेका थिए।