सम्पत्ति छानबिन आयोगद्वारा विवरण संकलन र छानबिन स्थगित
काठमाडौं, असार ३२ — सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सम्पूर्ण काम हालका लागि स्थगित गरेको छ।
आयोगले आज जारी गरेको सूचनामा सर्वोच्च अदालतको असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन प्रक्रिया रोकिएको जनाएको छ।
आयोगले यसअघि पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जवाफदेहीको जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो।
आयोगले सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद आजसम्म तोकेको थियो। तर सर्वोच्च अदालतको आदेशपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको हो।