नेपाललाई एडीबीको २.४ अर्ब अमेरिकी डलर सहयोग घोषणा
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै आगामी वर्षहरूमा नेपाललाई करिब २.४ अर्ब अमेरिकी डलर (साढे तीन खर्ब रुपैयाँभन्दा बढी) आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
एडीबीका अनुसार उक्त सहयोग नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, पूर्वाधार विकास र लगानी प्रवर्द्धनमा केन्द्रित हुनेछ। भेटका क्रममा अध्यक्ष कान्डाले नेपालसँगको ६० वर्ष लामो साझेदारीलाई थप सुदृढ बनाउँदै विकास योजनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले एडीबीको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको समृद्धि र दिगो विकासका लागि उक्त सहयोग प्रभावकारी रूपमा परिचालन गरिने बताएका छन्।