साउनमा बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो
काठमाडौं, असार ३२ — वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार असारको तुलनामा साउनमा दुवै प्रकारका निक्षेपको औसत ब्याजदरमा गिरावट आएको हो।
असार महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत रहेकोमा साउनका लागि घटेर ४.१७ प्रतिशत कायम भएको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.१२ प्रतिशतमा झरेको छ।
तथ्यांकअनुसार व्यक्तिगततर्फ औसत ब्याजदर ०.०९ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०६ प्रतिशत बिन्दुले घटेको छ। अधिकांश बैंकहरूले साउनका लागि ब्याजदर स्थिर राखे पनि केही बैंकले घटाएका छन्।
साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ६ वटा र संस्थागततर्फ ५ वटा बैंकले ब्याजदर घटाएका छन्। यता नेपाल बैंकले भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाएर ४ प्रतिशत पुर्याएको छ। असारमा उक्त दर ३ प्रतिशत थियो।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फको ब्याजदर २.७५ प्रतिशतमा झारेको छ।
राष्ट्रिय वाणिज्य बैंकले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत घटाएको छ। बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ३.९५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम गरेको छ। कुमारी बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर केही घटाएका छन्।
तर एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, प्राइम, प्रभु, माछापुच्छ्रे, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, एनआईएमबि र एनआईसी एशिया बैंकले भने साउन महिनाका लागि असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।