नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड १५ लाख रुपैयाँ पुगेको छ।
आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण एक वर्षमा करिब ३ खर्ब रुपैयाँले बढेको हो। हालको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत बराबर रहेको छ।
कुल ऋणमध्ये बाह्य ऋण १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ र आन्तरिक ऋण १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। बाह्य ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
सरकारले गत आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखे पनि ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र परिचालन गरेको छ।
यस अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको छ। विनिमय दरमा आएको परिवर्तनले समेत सार्वजनिक ऋणको भार बढाएको कार्यालयले जनाएको छ।