मोदीको न्युजिल्यान्ड भ्रमणमा भारत–न्युजिल्यान्डबीच रणनीतिक साझेदारी घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा भारत र न्युजिल्यान्डले रक्षा, सुरक्षा, व्यापार, कूटनीति, विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन्।
अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले माओरी परम्पराअनुसार प्रधानमन्त्री मोदीलाई स्वागत गर्दै सम्मान गारद प्रदान गरेका थिए। गत अप्रिलमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दिशामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा रहेका मोदीको न्युजिल्यान्ड यात्रा भ्रमणको अन्तिम चरण हो। प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य गतिविधिका बीच भएको यो भ्रमणलाई भारतको कूटनीतिक सक्रियताको संकेतका रूपमा पनि हेरिएको छ।
चालीस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले न्युजिल्यान्ड भ्रमण गरेको यो पहिलो अवसर हो। स्वागत समारोहमा प्रधानमन्त्री लक्सनले रणनीतिक साझेदारीले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री मोदीले यो सम्झौताले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा र आत्मविश्वास थप्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताले भारत र न्युजिल्यान्डलाई स्वाभाविक साझेदार बनाएको बताए।
दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, संयुक्त नौसैनिक अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद तथा विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ। साथै, स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र निर्माणमा साझा प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैबीच, मोदीले अकल्यान्डमा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय मूलका नागरिकमध्ये हजारौँ कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।
यद्यपि भारतसँगको स्वतन्त्र व्यापार सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी र कामदारका लागि भिसा तथा आप्रवासन प्रक्रिया सहज बनाउने विषयलाई लिएर न्युजिल्यान्डभित्र राजनीतिक बहस र आलोचना पनि भइरहेको छ। प्रधानमन्त्री लक्सनले भने उक्त सम्झौताले रोजगारी सिर्जना, आर्थिक विकास तथा दुई देशका नागरिकको समृद्धि र सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।