सुकुम्वासीको अवस्था बुझ्न पुगेका जेन–जी अगुवा माजिद अन्सारी पक्राउ
काठमाडौं — कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका डुबान प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेन–जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। अन्सारीसहित उनको टोलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले अन्सारीलाई लछारपछार गर्दै जबरजस्ती प्रहरी भ्यानमा राखेर लगेको थियो। घटनापछि उक्त दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ।
घटनाप्रति नेपाल जेन–जी मुभमेन्ट अलायन्सले आपत्ति जनाउँदै पक्राउ गरिएका अन्सारीसहित टोलीलाई तत्काल रिहा गर्न माग गरेको छ। अलायन्सले सुकुम्वासीहरूको अवस्था बुझ्न शान्तिपूर्ण रूपमा पुगेका व्यक्तिमाथि गरिएको पक्राउ अस्वीकार्य भएको जनाएको छ।
उल्लेखनीय छ, अत्यधिक वर्षापछि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्वासीहरूको अवस्था थप कठिन बनेको छ।