सुदूरपश्चिममा मनसुन र बहुप्रकोप पूर्वसूचना कार्ययोजना अनुमोदन
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्ले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना–२०७७ (पाँचौँ संशोधन–२०८३)’ र ‘बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०)’ अनुमोदन गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा धनगढीमा बसेको परिषद् बैठकले कार्ययोजना पारित गरेसँगै अन्तरनिकाय समन्वय, स्रोतसाधन व्यवस्थापन, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। बैठकले मनसुनजन्य जोखिम न्यूनीकरण, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनामा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी बाँडफाँट गर्दै समन्वयात्मक रूपमा परिचालन हुने समझदारी पनि गरेको छ।
बैठकमा मुख्यमन्त्री शाहले विपद्का बेला सरकारको भूमिकामाथि प्रश्न नउठ्ने गरी सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै तीनै तहका सरकार, सुरक्षा निकाय र विकास साझेदारबीच समन्वय तथा सीमित स्रोतसाधनको अधिकतम उपयोगमा जोड दिए। नेकपा प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जलवायु परिवर्तनका कारण विपद्को स्वरूप बदलिएकाले सोहीअनुसार नीतिगत र संरचनागत तयारी आवश्यक रहेको बताए।
अनुमोदित मनसुन कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत जोखिमको पूर्वानुमान, जोखिम न्यूनीकरणका उपाय, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी स्पष्ट कार्यविभाजन समेटिएको छ। यस्तै, बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजनाले आधुनिक प्रविधिमा आधारित मानव–केन्द्रित पूर्वसूचना प्रणाली विकास, सञ्चार संयन्त्र सुदृढीकरण र जलवायु परिवर्तनबाट बढ्दो विपद् जोखिम न्यूनीकरणमा विशेष जोड दिएको छ।