वैदेशिक रोजगारीको प्रलोभनमा १९ लाखभन्दा बढी ठगी, पाँच जना पक्राउ
काठमाडौं — आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर १९ लाख ४२ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन्।
प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई पीडितबाट सात लाख ९० हजार रुपैयाँ असुलेपछि सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।