शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँगको परामर्शपछि बुधबार गरिएको मन्त्रिस्तरीय निर्णयमार्फत हाललाई उक्त शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरिएको हो।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। तर शुल्क लागू भएपछि व्यापक जनगुनासो आएपछि सरकारले निर्णय पुनर्विचार गरेको हो।
मन्त्रिस्तरीय निर्णयअनुसार आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिमको शिक्षा समता शुल्क र दफा १७ बमोजिमको स्वास्थ्य समता शुल्कमा दफा १८(१) अनुसार पूर्ण छुट दिने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको छ।