झुलुङ्गे पुल निर्माणको हिसाब सार्वजनिक, कुल खर्च १ करोड २९ लाख रुपैयाँ
दार्चुलामा निर्माणाधीन झुलुङ्गे पुलको प्रशासनिक तथा सामग्री खरिद खर्च सार्वजनिक गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा निर्माण भइरहेको पुलमा हालसम्म कुल १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक खर्च विवरणअनुसार प्रशासनिक शीर्षकतर्फ ७४ लाख १५ हजार ६५१ रुपैयाँ खर्च भएको छ। यसअन्तर्गत सबैभन्दा बढी यातायातमा २८ लाख ४८ हजार ३८३ रुपैयाँ खर्च भएको देखिएको छ। यस्तै, खाना खर्चमा १६ लाख ४० हजार ६४२ रुपैयाँ, क्याम्प व्यवस्थापनमा ५ लाख ९१ हजार ५९५ रुपैयाँ तथा ढुवानी र विविध खर्चमा १२ लाख ४७ हजार ४०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यसैगरी, पुल निर्माणका लागि आवश्यक सामग्री खरिदतर्फ ५५ लाख १३ हजार ५२३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। प्रशासनिक र सामग्री खरिद शीर्षकको खर्च जोड्दा हालसम्म पुल निर्माणमा १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको देखिएको छ।
पुल निर्माण टोलीले आफ्नो आधिकारिक छापसहित खर्च विवरण सार्वजनिक गर्दै निर्माण कार्यमा भएको खर्चको विवरण सार्वजनिक गरेको जनाएको छ।