जोर्डनमा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, इरानविरुद्ध अमेरिकी हवाई कारबाही जारी
जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा भएको मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। घटनामा केही अन्य सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार आक्रमणमा ब्यालिस्टिक मिसाइल प्रयोग गरिएको थियो। घटनासँग सम्बन्धित एउटा भिडियो सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
इरानले भने घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, अमेरिकी सेनाले जोर्डनमा आफ्ना सैनिकको मृत्युको प्रतिशोधस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ठेगानालाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जोर्डन आक्रमणमा संलग्न रहेको दाबी गरिएका समूहका स्थानहरूलाई लक्षित गर्दै सैन्य कारबाही गरिएको हो।
इरानी समाचार एजेन्सी मेहरका अनुसार अमेरिकी सेनाले केश्म टापुनजिकैको एक क्षेत्रमा समेत हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा कुनै सर्वसाधारण हताहत नभएको र आवासीय तथा व्यावसायिक संरचनामा क्षति नपुगेको दाबी गरिएको छ।
अमेरिकी सेनाले इरानविरुद्ध लगातार आठौँ रात हवाई आक्रमण जारी राखेको जनाएको छ। सेन्ट्रल कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सैन्य अड्डा र हतियार भण्डारण स्थललाई लक्षित गर्दै आठौँ चरणको सैन्य अभियान सञ्चालन गरिएको हो।