नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालनको पहिलो चरणमा एम्बुलेन्स र अत्यावश्यक सवारीलाई मात्र अनुमति
सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि पहिलो चरणमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेश दिइने भएको छ।
२.६८८ किलोमिटर लामो सुरुङमार्ग साउन दोस्रो सातादेखि सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि परीक्षण अवधिमा चरणबद्ध रूपमा सवारीसाधन सञ्चालन गरिने आयोजनाले जनाएको छ।
सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुवातमा इमर्जेन्सी सवारीसाधनलाई प्रवेश गराइनेछ। त्यसपछि क्रमशः कार, भ्यान, साना सवारी, बस र ट्रक सञ्चालन गरिनेछ।
सरकारले सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाली कम्पनीसँगको संयुक्त साझेदारीमा रहेको चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई दिएको छ।
आयोजनाका अनुसार सुरुङ सञ्चालनका लागि १४६ जना कर्मचारी परिचालन गरिनेछ। त्यसमध्ये १४१ जना नेपाली र सुरुङ सञ्चालन तथा व्यवस्थापनमा अनुभव भएका पाँच जना विदेशी कर्मचारी रहनेछन्।
निर्देशक नेपालका अनुसार कर्मचारी छनोट भइसकेको र साउनभित्रै आवश्यक तालिम सम्पन्न गर्ने तयारी भइरहेको छ। सुरुङको प्रणाली, उपकरण र आपत्कालीन उद्धारसम्बन्धी विषयमा विदेशी प्रशिक्षकबाट समेत तालिम दिइनेछ।
सम्भावित दुर्घटना व्यवस्थापनका लागि दुई वटा सवारी ठोक्किएको तथा आगलागी भएको अवस्थाको अभ्यास गराएर कर्मचारीलाई उद्धार प्रक्रियाबारे प्रशिक्षण दिने तयारी भइरहेको आयोजनाले जनाएको छ।
सुरुङमा हुने सम्भावित दुर्घटना र आगलागी नियन्त्रणका लागि प्रहरी, अस्पताल, सशस्त्र प्रहरी, धुनिबेँसी र चन्द्रागिरि नगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय भइरहेको निर्देशक नेपालले बताए।
यसैबीच, सामाजिक सञ्जालमा नागढुङ्गा सुरुङभित्र मानिसहरू मर्निङ वाक गरिरहेको भिडियो सार्वजनिक भएपछि आयोजनाले त्यसबारे स्पष्ट पारेको छ। नेपाल र जापान सहयोग नियोग (जाइका) को ७०औँ वर्षको अवसरमा सचेतनामूलक कार्यक्रमअन्तर्गत मात्रै सुरुङ प्रयोग गरिएको र नियमित रूपमा सर्वसाधारणलाई प्रवेश अनुमति नदिइएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार सुरुवाती चरणमा सीमित सवारीसाधन सञ्चालन गर्दा सुरुङको प्रणाली परीक्षण गर्न र देखिएका समस्या समाधान गर्न सहज हुनेछ। सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउन भने केही समय लाग्नेछ।