चन्द्रागिरिबाट १५ हजार ट्रामाडोलसहित दुई जना पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालका डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्यूरोको टोलीले अनिललाई ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनको प्रयोगमा रहेको बा ७७ प ७८०० नम्बरको स्कुटरसमेत बरामद गरेको छ।
त्यस्तै, अनिल बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १८८ वटा, ट्रामाडोल ३ हजार ७७० वटा र पोलेन १५० वटा बरामद गरिएको प्रहरीले जनाएको छ।
सोही क्रममा उक्त कोठाबाट १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल सेटसमेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध, नगद, स्कुटर र मोबाइलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको डीएसपी थापाले जानकारी दिए।