इरान प्रवेश गर्ने क्रममा अफगान मरुभूमिमा पाँच जनाको मृत्यु, १४ बेपत्ता
पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा पाँच अफगान नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन्।
स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार इरान प्रवेश गर्ने उद्देश्यले सीमा पार गर्न खोज्ने क्रममा उनीहरू मरुभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरुभूमिबाट पाँच जनाको शव फेला पारेका हुन्।
अधिकारीहरूका अनुसार मृतकहरू हेल्मन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरुभूमि क्षेत्र हुँदै अघि बढेको १९ जनाको समूहमा रहेका थिए। उक्त समूहले बाटो बिराएर मरुभूमिमा फसेको हुन सक्ने अनुमान गरिएको छ।
अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ। बेपत्ता रहेका १४ जनाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन्।