अदालतमा जलेका ६ हजारभन्दा बढी मिसिलमध्ये ३ हजार ३०७ थान पुनः प्राप्त
गत वर्ष भदौ २४ गते भएको आगजनीबाट उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका ६ हजार १२६ थान मिसिलमध्ये ३ हजार ३०७ थान पुनः प्राप्त भएका छन्।
उच्च अदालत पोखराका अनुसार उच्च अदालतमा नष्ट भएका २५७ थान मिसिलमध्ये २५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका २ हजार ६५ थान मिसिलमध्ये १ हजार ९८९ थान मिसिल पुनः प्राप्त भएका छन्।
त्यस्तै, तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका ३ हजार ८०४ थान मिसिलमध्ये १ हजार ६८ थान पूर्णरूपमा र १५ थान आंशिक रूपमा प्राप्त भएको उच्च अदालत पोखराका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए।
उनका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट प्राप्त भएका मिसिलहरू प्रमाणीकरण गरिएको छ। उच्च अदालतका सात, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका २ हजार ७५१ थान मिसिल अझै प्राप्त हुन बाँकी छन्।
मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। चालु मुद्दामा मिसिल आवश्यक पर्ने भएकाले नष्ट भएका कागजात उपलब्ध गराउन आह्वान गरिएको उप–रजिष्ट्रार पनेरुले बताए।
उनले पुनः प्राप्त हुने क्रम जारी रहेकाले मिसिलको सङ्ख्यामा केही परिवर्तन हुन सक्ने बताए। पुनरावेदनका लागि सर्वोच्च अदालत पठाइएका केही मुद्दाका मिसिलसमेत नष्ट भएकाले उच्च अदालतमा क्षतिको सङ्ख्या थप बढ्न सक्ने उनको भनाइ छ।
सर्वोच्च अदालतले तयार गरेको मिसिल कागजात प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिकाअनुसार जलेका मिसिल पुनः प्राप्त र प्रमाणीकरण गर्ने काम भइरहेको छ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा अदालतहरूमा भएको आगजनीमा मुद्दाका मिसिलसहित महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए।